Indrenionline.com

बागमतीमा सबै गठबन्धनका उम्मेदवार विजयी

हेटौँडा । रिक्त हुन लागेका १९ सिटका लागि आज सम्पन्न् राष्ट्रिय सभा सदस्यको निर्वाचनमा बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मतदानपछि भएको मतगणनाको मत परिणामअनुसार यस प्रदेशबाट चारैजना राष्ट्रिय सभा सदस्य सत्ता गठबन्धनबाट विजयी भएका हुन् ।

अन्यतर्फ कांग्रेसका जीतजङ्ग बस्नेत, महिलातर्फ विष्णुदेवी पुडासैनी, अपाङ्गतातर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फबाट नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा विजयी भएका छन् ।

बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार बस्नेतले छ हजार ५३१ मतभार प्राप्त गर्दा र उनका निकटम प्रतिद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले दुई हजार ३५९ मतभार प्राप्त गरे । यस्तै पुडासैनी छ हजार ६२२ मतभार र उनका निकटम प्रतिद्वन्द्वी एमालेका रोचकुमारी चौलागाईले दुई हजार ५५२ मतभार प्राप्त गरिन् । साथै अधिकारीले छ हजार ३८३ मतभार र उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विवेक देवकोटाले दुई हजार ७३४ मतभार प्राप्त गरेका थिए ।

यसैगरी घनश्याम रिजाल विश्वकर्माले छ हजार ५१२ मतभार र उनका निकटम प्रतिद्वन्द्वी एमालेका ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे । अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्यगरी चार क्षेत्र (क्लष्टर) बाट राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन भएको थियो ।