काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को भर्चुअल अनुगमन गर्दै प्रधानमन्त्रीले भने, “वार्षिक बजेटको ठिक ढङ्गले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्त्वपूर्ण आयोजनाहरू नराम्रोसँग प्रभावित हुने गरेका छन् । पर्याप्त बजेटको व्यवस्था नहुँदा एकातर्फ गुणस्तरीय काम नहुने र अर्कोतर्फ भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ । यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ । यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ ।”
अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउनुहुँदै फिल्डमा परिणाममुखी काम गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिएका थिए । “नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ । फिल्डमा तपाईँहरू काम गर्नुस् । पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस् । यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला”, उनले भने ।
