Indrenionline.com

नाबालिग छोरीलाई यातना दिने बाबु प्रहरी नियन्त्रणमा

हेटौँडा । नाबालिग छोरीलाई यातना दिने बाबुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरागरि बस्ने महोत्तरी एक डाँडा–३ का २७ वर्षीय रामजी मण्डललाई आफ्नी साढे ४ वर्षकी नाबालिग छोरीमाथि निर्मम यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि बाल हेल्प लाइनको सहयोगमा मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

मण्डलले छोरीसहित श्रीमतीलाई पनि यातना दिने गरेको सूचना पाएपछि डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भीर अवस्थामा रहेको नाबालिगलाई उद्धार गरेको सिवन बाल हेल्प लाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बताए । मण्डलको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।