काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रबार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जना नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए ।
समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
