काठमाडौँ । गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेकोछ । सरकारको अवधि एक वर्ष पुगेपनि सरकारको काम प्रति सत्ता गठबन्धनकै मुख्य घटक नेपाली कांग्रेसमा चरम असन्तुष्टि देखिएको छ । कांग्रेसको बिहीबार सुरु भएर शनिबार सकिएको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री दाहाल र सरकारमा सहभागी आफ्नै मन्त्रीहरूको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरूले खुलेर आलोचना गरे ।
तीन दिनसम्म सयभन्दा बढी केन्द्रीय सदस्य र पदाधिकारीले धारणा राख्दा मन्त्रीबाहेक अधिकांशले सरकारको आलोचना गरेका थिए । मुख्य गरी केन्द्रीय सदस्यहरू सरकारका कामकारबाही र आसन्न राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटको विषयलाई लिएर बोलेका थिए । बैठकले अवसर नपाएका, विभिन्न कारणले अवसरबाट वञ्चित भएका, राष्ट्रिय रूपमा प्रतिष्ठित, भूगोल र समुदायलाई समेत समेटेर उम्मेदवार तय गर्ने मापदण्ड बनाएको छ ।
