काठमाडौँ । कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका मन्त्रीहरूको कार्यसम्पादनमाथि छलफल गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर भएका मन्त्रीहरूलाई तत्काल हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजिरहेका बेला बिहीबारदेखि सुरु हुने बैठकमा कांग्रेसले मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर समीक्षा गर्न लागेको हो ।
सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार प्रधानमन्त्री दाहालले कार्यक्षमताका आधारमा मन्त्री परिवर्तन गर्ने जनाउ दिएका थिए । ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन,’ सम्बोधनमा प्रधानमन्त्रीले भनेका थिए, ‘हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन । छाडिदिनुपर्छ ।’
अहिल्यै मन्त्री परिवर्तन गर्दा महासमिति बैठकमा चर्को असन्तुष्टिको सामना गर्नुपर्ने ठानेर नै कांग्रेस सभापति शेरबहादुर देउवा तत्काल मन्त्री बदल्ने पक्षमा देखिएका छैनन् । कांग्रेसका एक नेताका अनुसार देउवाले दाहालसँगको कुराकानीमा महासमिति बैठकअघि आफ्ना मन्त्रीहरू नचलाउने जवाफ दिएको बताए । कांग्रेसको महासमिति बैठक चौथो पटक सारेर फागुन ७–१० मा तय गरिएको छ कान्तिपुरमा खबर छ। ‘प्रधानमन्त्रीले तत्काल हतारो देखाइरहनुभएको छ, सभापतिज्यूले राष्ट्रिय सभाको निर्वाचन र पार्टीको महासमिति बैठकअघि कांग्रेसका मन्त्री परिवर्तन नहुने जवाफ दिनुभएको छ,’ ती नेताले भने, ‘कि पूरै मन्त्रीहरूलाई परिवर्तन गर्नुपर्यो, नत्र एकरदुई जना मात्रै परिवर्तन गर्दा कसलाई गर्ने भन्ने समस्या परेको छ ।’
