Indrenionline.com

अस्पतालले मृत घोषणा गरेका व्यक्ति दाहसंस्कार गर्न लैजादै गर्दा जीवितै

इटहरी । अस्पतालका लापरवाहीका कारण विरामीको मृत्यु भएको, अप्रेसनका वेला विरामीको पेटमै कैची, कपडालगायतका औजार रहेको, खुट्टाको अप्रेसन गर्नुपर्ने विरामीको हातको अप्रेसन गरिदिएको जस्ता अस्पतालका अनेकौं लापरवाही हामीले सुनेको भोगेकै हो । तर यहाँ अहिले त अस्पतालले नै मृत घोषणा गरेका व्यक्ति जिवीतै फेला परेका छन् ।

तस्विर : गोरखापत्र

इटहरी इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा अस्पतालले मृत्यु भइसकेको प्रमाण दिएर दाहसंस्कारका लागि घाट लैजान लाग्दा जिवीतै फेला परेका हुन् । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका उनी जीवितै रहेको पाइएको हो ।

विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।

इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आउनुभएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस हुनुभएको थियो । तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उनलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती सीता सदाले बताए ।

शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको समाजसेवी राजेन्द्र पोख्रेलले बताए ।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनी जीवित पाइएको समाजसेवी कटुवालले जानकारी दिए । ।

सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उहाँ जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दुध खुवाएको स्थानीयले बताएका थिए ।