Indrenionline.com

सरकारले आन्तरिक कृषि उपजमा भ्याट लगाउँदा आलु र प्याजको मूल्य आकासियो

काठमाडौँ । बजारमा आलु र सुकेको प्याजको भाउ बढ्दो छ । किसानले उचित मूल्य पाउन सकेका छैनन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।

सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ । बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ ।

कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका सल्लाहकार उज्ज्जल कार्कीले भ्याटका कारण कारोबार गर्ने नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको जानकारी दिए । व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने चेतावनी दिने काम आन्तरिक राजस्व कार्यालय कालीमाटीबाट केही दिनपहिले भएको उनको आरोप छ । आन्तरिक उत्पादनमै जोडेर भ्याटको कारोबार हेर्न थालेपछि व्यवसायी तत्काल कारोबार नगर्ने अवस्थामा पुगेका भन्दै कालीमाटी तरकारी बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले भने, “कारोबार रोकेको नभई व्यापार नगर्ने भनेर आआफ्नो कारोबार बन्द गरेका छौँ ।”

चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निर्णय गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन आजको गोखापत्रमा खबर छ। देशैभरका व्यापारीले आलु र प्याजको कारोबार झन्डै तीन दिनदेखि रोकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा आलु तथा प्याज आयात नभएको र आलु तथा प्याजका स्टल खाली भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कालीमाटी बजारमा आलु र प्याज छैन तर व्यवसायीले आलु तथा प्याज बजारमा भित्र्याएका छैनन् । बजारमा आलु तथा प्याज नभएपछि बजार मूल्य पनि नतोकिएको बजार विकास समितिले जनाएको छ । समितिका अनुसार कालीमाटी बजारमा आलु तथा प्याजका थोक कारोबार गर्ने व्यापारीको सङ्ख्या करिब दुई सय रहेको छ ।

आलु तथा प्याज आपूर्तिकर्ताको विरोधका कारण बजारमा यसका भाउ मनपरी भएको छ । बजारमा यी वस्तुको अभाव देखाउँदै व्यवसायीले मनलाग्दी रूपमा मूल्य लिने गरेका छन् । यही सोमबारसम्म प्रतिढक ९पाँच केजी० २२० रुपियाँ रहेको आलु अहिले बढेर चार सय रुपियाँ पु¥याइएको छ । अभावको कारण देखाउँदै व्यवसायीले मूल्य मनपरी तोकेका छन् ।
यसैबीच सरकार आलु र सुकेको प्याजमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाइने विषयमा तत्कालका लागि मौन बस्ने सङ्केत गरेको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको कालीमाटीले यही साता आलु र प्याजका व्यापारीलाई भ्याटमा दर्ता हुन निर्देशन दिएसँगै चर्केको व्यवसायीको विरोधले यस विषयमा सरकारलाई मौन बस्नुपर्ने अवस्थामा पु¥याएको हो ।

देशभरका आलु र सुकेको प्याजको आपूर्ति एवं थोकमा कारोबार गर्दै आएका व्यापारीले गएको तीन दिनदेखि प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गर्दै आएका हुन् ।