काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ । रिक्त सात पदमध्ये मङ्गलबार ६ जनाको नाम सिफारिस गरिएको हो । २०७८ जेठयता न्यायाधीशले उमेरहदका कारण अवकाश पाउँदै गए पनि पदपूर्ति भने नियमित भएको थिएन ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भए प्रस्तावित न्यायाधीशको नियुक्तिको बाटो खुल्ने छ । अहिले सर्वोच्चमा १४ जना न्यायाधीश कार्यरत छन् । संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी छ । मङ्गलबार बसेको परिषद् बैठकले उच्च अदालतका न्यायाधीशबाट चार र कानुन व्यवसायीबाट दुई जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।
परिषद्ले उच्च अदालतबाट सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गानालाई न्यायाधीशमा सिफारिस गरेको हो । यस्तै कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ताद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई न्यायाधीशमा सिफारिस गरिएको छ । पोखरेल यसअघि नेपाल बार एसोसिएसनको महासचिव भएका थिए भने ढकाल सर्वोच्च अदालत बार एसोसिएसनको सचिव भएका थिए ।
यस्तै परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । परिषद्ले लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्ति सिंह थापालाई नियुक्ति र पदस्थापनको सिफारिस गरिएको छ । प्रधानन्यायाधीशले मुख्य न्यायाधीश नियुक्ति र पदस्थापन गर्ने कानुनी व्यवस्था छ ।
