काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वलाई लक्षित गर्दै आजदेखि सहुलियत (सुपथ) पसल सञ्चालन गर्दैछ । आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन हुँदैछन्। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सुपथ पसल सञ्चालन गर्दैछन् । ४२ जिल्लाका ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुदैछन् ।
सुपथ पसल काठमाण्डौ उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुँदैछन् । यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन् ।
सुपथ पसलको बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेल, कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा छुट पाउनेछन् । काठमाण्डौ उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । सुपथ पसलमा उपभोक्ताले चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाउने छन् ।
त्यस्तै साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।
