काठमाडौं । अन्तर्राष्ट्रिय एटिएम कार्डमार्फत गरिने भुक्तानीमा नयाँ किसिमको बैंकिङ ठगी हुन थालेको छ । म्यानुअल पिओएस मेसिनबाट भएको एक ठगी घटनामा नेपाल एसबिआई बैंकले एक करोड ५८ लाख रुपैयाँ गुमाएको छ । प्रहरीले एक व्यक्ति पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार प्वाइन्ट अफ सेल्स (पोज मेसिन) बाट हुने भुक्तानीमा ठगी भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले ठमेलमा व्यवसाय गर्ने ड्रागन इन्भेस्टमेन्ट प्रालिका सञ्चालक किसनराज सिंहलाई पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको छ ।
नेपाल एसबिआई बैंकको जाहेरीका आधारमा पक्राउ परेका सिंहलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबी प्रवक्ता एसपी नवराज अधिकारीले बताए । बैंकले उनीविरुद्ध एक करोड ६८ लाख ८१ हजार ६ सय ३६ रुपैयाँको बिगो दाबी गरेको छ । यस्तो ठगीमा अन्तर्राष्ट्रिय गिरोहको पनि संलग्नता रहेको आशंका गरिए पनि पत्ता लागेको छैन ।
कसरी फस्यो एसबिआईको रकम ?
अन्तर्राष्ट्रिय भिसा तथा मास्टर कार्ड कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले ती कम्पनीको नेटवर्कमा आबद्ध हुन नोस्ट्रो खाता खोलेका हुन्छन् । नेपाल एसबिआई बैंकको यस्तो खाता अमेरिकास्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा छ ।
यसरी भिसा तथा मास्टर कार्डमार्फत भुक्तानी हुँदा सोही नोस्ट्रो खातामार्फत सम्बन्धित बैंकले रकम पाउँछ । सोही आधारमा सो कारोबारबापतको रकम प्राप्त गरी एसबिआईले आफैँ ग्राहक रहेका सिंहको व्यक्तिगत खातामा सो रकम जम्मा गरिदियो ।
त्यसरी म्यानुअल पिओएस मेसिनबाट भुक्तानी भएको कार्ड युरोपियन बैंकका ग्राहकहरूको थियो । आफूहरूको खाताबाट पैसा चोरी भएको भन्दै उनीहरूले आफ्नो बैंकमा उजुरी गरे । मास्टर कार्डका ७० तथा भिसा कार्डका २४ ग्राहकले उजुरी गरेका थिए ।
उजुरीपछि बैंकले भिसा तथा मास्टर कार्ड कम्पनीलाई त्यसबारे जानकारी गरायो । भिसा र मास्टर कार्डले उजुरीबारे जानकारी गराउँदै यसबारे नेपालको एसबिआई बैंकसँग विवरण माग गर्यो । तर, बैंकले त्यसरी भुक्तानी गर्ने व्यक्तिको पासपोर्ट, सिसिक्यामेरा फुटेजलगायत नियमअनुसारको विस्तृत विवरण उपलब्ध गराउन नसकेपछि उसको नोस्ट्रो एकाउन्टबाट एक लाख १५ हजार डलर कटाएर कार्डधनीको रकम चोरिएको ग्राहकको खाता भएका युरोपियन बैंकलाई दिएको थियो । यसबाट नेपालको एसबिआई बैंक पीडित बन्यो ।
सिंहले सम्झौताअनुसार विस्तृत विवरण नराखी भुक्तानी लिएका कारण आफ्नो बैंकलाई समस्या भएको भन्दै एसबिआई सिआइबी पुगेको थियो । गत ७ असारमै उजुरी दर्ता भएकोमा २७ भदौमा सिंहलाई पक्राउ गरी ब्युरोले अनुसन्धान अघि बढाएको थियो । सुरुमा बैंकले उनीसँग सो रकम माग गरेको थियो उनले फिर्ता गर्न नसकेपछि जाहेरी दिएको हो । सिंहले भने यसबारे आफूलाई बैंकले ढिलो गरी मात्र जानकारी गराएकाले पैसा फिर्ता गर्न नसकेको बताएका छन् ।
नयाँ पत्रिकाबाट
