काठमाडौँ, ११ साउन । दुई समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अब एकीकरण हुँदा पनि दुई अध्यक्ष नै रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ हुनेछ । साथै, सो पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र कार्यकारी अध्यक्ष कमल थापा हुने गरी एकीकरणको अवधारणा अगाडि सारिएको छ ।
राप्रपाका वरिष्ठ नेता राणाले आज बस्ने केन्द्रीय समितिको बैठकमा एकताका लागि तयार गरिएको अवधारणापत्र प्रस्तुत भई छलफलपछि पारित हुने र औपचारिक एकताका लागि अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टी एकता निश्चित भएको र पार्टीको अन्तरिम विधान बन्दै गरेकाले औपचारिक एकता हुनका लागि केही दिन लाग्ने जानकारी दिनुभयो ।।