केशरमान बुढाथोकी
केहि दिन यता मुलधारका पत्रिका र अनलाइनहरुमा दैनिक जसो आउने बिषय हो पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम तथा तस्वीर । बिषयबस्तु छ सुन तस्करमा उनीहरुको कनेक्सन । यो बिषय बस्तु हाल पत्रीका बिकाउनका लागि हट केक नै बनेका छ । अनलाइन तथा युट्युबका लागि पनि उतिकै भ्युज जाने बिषय बनेको छ । रातोपाटी अनलाइनबाट प्रारम्भ भएको उक्त समाचारले हाल कान्तिपुर दैनिकको मुख्य समाचारको रुपमा काम गरिरहेको छ ।
संधै जसोको हेडलाइन आँउछ महरा बाबु छोरा सुन तस्करका प्रमुख नाइके नै हुन् जसरी । तर गुदी समाचार छ सुन तस्करमा संलग्न भएको भनिएको चिनिया नागरिकसंग यति पटक फोन भयो मात्र । त्यो भन्दा नयाँ बिषयबस्तु कुनै दिनको कुनै पनि समाचारमा कहिँ कतै हुँदैन । मुलधारका मिडियाहरु कही कतै गल्ति पो छ कि भनेर न्वारन देखिको बल लगायर खोजिरहेका छन् । तर यति पटक फोन सम्पर्क भयो भन्ने भन्दा बढ्ता प्रमाण जुटाउन उनीहरुले पुस्तौं बितायपनि सक्ने अवस्था देखिएन । केहि समय अगाडि बहाल वाला सभामुख हुँदा महरालाई एउटा गम्भीर आरोप लाग्यो । सभामुख पदमा बहाल हुँदा नै पक्राउ परे । देशको न्याय मूर्तिले पक्राउ परेको छोटो समयमा उनीमाथि लागेको आरोप प्रमाणित गर्ने कुनै प्रमाण नभएको भन्दै उनलाई सफाया दियो ।
हाल सुन तस्करीमा संलग्न भनेर पत्रिकाहरुले नै वकालत गर्दै उनलाई दोषी करार गरिरहेको छ । कुनै पनि बिषयबस्तु उठेपछि एउटा समाचार सम्म सम्प्रेषण गर्ने कुरालाई स्वाभाविक रुपमा लिन सकिन्छ । तर कान्तिपुर एउटा समाचार मात्र लेखेर छोड्ने मुडमा छैन । कान्तिपुर प्रति विश्वास राख्ने म बबुरो पाठकले कान्तिपुरलाई प्रश्न गर्न सक्ने हैसियत त राख्दैन होला तर कान्तिपुर जस्तो पत्रीकाले दैनिक पिच्छे लेखिने समाचारमा हेडलाइन मात्र परिवर्तन गरेर समाचार उही राख्नु के न्यायोचित पत्रकारिता हो ? मेरो मथिङगलामा दर्जनौ पटक यी प्रश्नले हिर्काइ रहेको थियो । झनै २०८० श्रावण ३० को कान्तिपुर दैनिकमा सम्पादक उमेश चौहानले लेखेको बिचार “प्रचण्ड ! महरालाई विधि मास्ने मोहरा नबनाऊ” शीर्षकले मलाइ पत्रकारिता पनि अदालत भएर वकालत गर्न लागेको प्रति गम्भीर बनाएको हो ।
महरा संग सुन कनेक्सन
महरा सुन प्रकरणमा संलग्न भएको मुख्य आधार टेलिफोन सम्पर्कलाई भनिएको छ । मिडियाका अनुसार सिआइबीको प्रतिवेदनमा पूर्व सभामुख कृष्णबहादुर महराको २२ र छोरा राहुल महराको २३४ पटक संवाद भएको उल्लेख भएको छ । त्यो भन्दा बढी न कुनै तथ्य छ न प्रमाण । यस प्रकरणमा समाचार सम्प्रेषण गर्ने सबै जसो मिडियाले २५६ पटक कुरा भयो भन्ने मात्र सम्प्रेषण गरेका छन् । त्यो भन्दा बढ्ता प्रमाण कहिँ कतै छैन ।
विज्ञान र प्रविधिको आजको युगमा कतिपटक कुरा भयो भन्ने समाचार मात्र सम्प्रेषण गरेर स्याल हुइयाँ गरिरहनुभन्दा २५६ पटकको टेलिफोन सम्वादमा कुराकानी चै के भयो भन्ने पनि सार्वजनिक गर्नुपर्छ कि पर्दैन ? टेलिफोन सम्पर्क भएको हो भने पनि सम्पर्क हुँदा संवाद के भयो ? उनीहरु बीच भएको संवादले सुन तस्करी संग सम्बन्धित छ कि अन्य कुनै फरक बिषयमा भएको छ ? त्यो तथ्य चाहिन्छ कि चाहिदैन ? महरा र सुन तस्करमा संलग्न भनिएका चिनिया नागरिक वाङ बिचको सम्बन्ध के हो भन्ने तथ्य तिर पनि अध्ययन गर्न जरुरी हुन्छ कि हुँदैन ? यी सबै भन्दा महत्वपूर्ण कुरा त हाल सम्म जति मिडियाले सुन तस्कर संग महरा संलग्न भएको ठहर गर्दै समाचार सम्प्रेषण गरिरहेका छन् ।
ति सबैले आरोपित महरालाई यस बिषयमा सम्पर्क गरेर तपाइको के भनाइ छ ? यसमा तपाइको संलग्नता हो ? भनेर एकपटक महराको बाइट राख्ने काम गरे कि गरेनन ? यसरी एउटा राजनीतिक नेतृत्वको राजनीतिक करियर नै नामेट गर्ने गरेर एकतर्फी समाचार सम्प्रेषण गरिरहँदा आरोपित व्यक्ति संग पनि बुझेर निजको भनाइ राखेर मिडियाको धर्म पुरा गर्नुपर्ने होइनर ? कसैले कसै संग टेलिफोन सम्पर्क भएकै भरमा आरोप प्रमाणित भएको मानिदैन भनेर उनि बिरुद्ध कुनै कानुनी प्रक्रियाको सुरुवात भएको छैन ।
स्मरण छ यो भन्दा अगाडि एउटा गम्भीर आरोप लाग्दा महरा देशको अति उच्च ओहोदामा आसिन थिए । जुन बिषयमा सम्बन्धित निकायले आवश्यक ठानेर उनलाई पक्राउ गरि छानबिन गरेको हो । अहिले पक्राउ गर्ने बिषय रहेछ भने उनलाई नेपालको कानुनले आवश्यक कारबाही गर्न सक्दैन ?
महराको राजनीतिक पुनरोदय र सुन प्रकरण
जव जव महरा राजनीतिमा उदाउन थाल्छन तव मात्र यस्ता प्रकरणहरु बाहिरिने गर्छन । यति वेला माओवादी पार्टी भित्र वामपन्थी शक्तिहरु एक भएर समाजवादी मोर्चा तयार गर्ने बिषय पेचिलो रुपमा आइरहेको छ । दर्जनौ टुक्रामा टुक्रिएको माओवादी पार्टीमा बृहत एकता र पदाधिकारीमा व्यापक हेरफेरको विषय उठेको बेला सुन प्रकरण सार्वजनिक हुनुलाई संयोग मात्र मान्न सकिन्न । कुनै समय झण्डै २ तिहाइ बहुमत सहितको बृहत माओवादी केन्द्र अहिले अत्यन्तै कमजोर मतका साथ तेश्रो दलमा खुम्चिएर रहेकोछ । जसको कारण माओवादी पार्टी भित्रको चरम गुठवन्दी रहेको विश्लेषण गर्न सकिन्छ । यसको शिकार मध्यमार्गी धारमा रहेका महरानै पर्नेगरेका छन् ।
पछिल्लो समय महरा तत्कालिन माओवादी पार्टीमा जुझारु युवा नेताका रुपमा स्थापित भएका नेत्र बिक्रम चन्दलाई पार्टी एकीकरण गरेर युवाशक्तिलाई देशको नेतृत्व दिनुपर्छ भन्ने बिषयमा लागिरहेको खबर बाहिरिरहेको थियो । समाजवादी मोर्चा बनाउने अभियानमा भएका महराको विप्लवलाई पार्टीमा भित्राउने दाउ माओवादीका दोश्रो दर्जाका नेताहरुलाई पटक्कै मन परिरहेको थिएन । जुन कुरा माओवादीकै दोश्रो तहका नेताहरुले विभिन्न अन्तर्वार्तामा सार्वजनिक गरिरहेको थिए । जो कुराले चरम रुप लिएपछि तिनै नेताहरु महरा विरुद्ध मिडिया प्रयोग गरेको अड्कल लगाउने पनि राजनीतिक वृतमा देकिन्छन् ।
प्रसंग जे जस्तो भएपनि सुन प्रकरणमा महरा दोषी रहेछन भने यसको सजाय दोषीले भोग्नुपर्छ । जो कुरा महराले विभिन्न समयमा प्रेस व्यक्तव्य मार्फत होस् वा पत्रकार सम्मेलनमा होस् दोषी प्रमाणित भए कानुन र सरकारलाई सहयोग गर्न तयार भएको वताएका छन् । तर कसैको राजनीतिक तथा सामाजिक जीवन सिध्याउने गरि निर्दोषलाई दोषी करार गर्दै मिडिया अदालत बनेको हो भने ? कुनै व्यक्तिको चरित्र संग मिडिया खेलेको प्रमाणित भयो भने ? महराको भएको राजनीतिक तथा सामाजिक जीवनको अपुरणीय क्षेतीको जिम्मा कसले लिने ?
