Indrenionline.com

बिरामीको हातबाट जुस पिएर १६ दिनपछि अनसन तोडे डा. केसीले

चिकित्सा क्षेत्र सुधारसहित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको माग सहित १६ दिनदेखि आमरणअनसनरत डा. गोविन्द केसीले आज अनसन तोड्नु भएको छ । स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीसहित अन्य तीन जना बिरामीको हातबाट जुस पिएर केसीले अनसन तोड्नु भएको हो ।

डा केसीका प्रतिनिधि र स्वास्थ्य सचिव उप्रेती संयोजकत्वको सरकारी वार्ता टोलीबीच सहमति भएपछि आज अनसन तोडिएको हो । अख्तियार प्रमुख कार्कीमाथि महाभियोग लगाउनुपर्ने माग भने आफ्नो दायरा भित्र नपर्ने भन्दै सरकारी वार्ता टोलीले छलफल अस्वीकार गरेको थियो । चिकित्सा शिक्षाको स्तरीयता, विद्यार्थी भर्नामा पारदर्शिता, केन्द्रीय प्रवेश परीक्षा प्रणाली, सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र अध्ययनका लागि ७५ प्रतिशत विद्यार्थीका लागि क्रमशः छात्रवृत्ति उपलब्ध गराउने र प्रत्येक प्रदेशमा कम्तीमा एकएक मेडिकल कलेज सञ्चालन गर्ने सहमति दुवै पक्षबीच भएको छ ।

सम्झौताअनुसार काठमाडौं उपत्यकामा आगामी १० वर्षसम्म नयाँ मेडिकल, डेन्टल र नर्सिङ कलेजलाई सम्बन्धनका लागि मनसायपत्र नदिने र मनसायपत्र पाइसकेका कलेजलाई सञ्चालन अनुमति नदिन पनि सरकार सहमत भएको छ । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठ लाई सरकारको स्वामित्वमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले सञ्चालन गर्ने प्रस्तावमा डा.केसी सहमत हुनु भएको छ ।