मुसीकोट । सानीभेरी गाउँपालिकाका कर्मचारीले इन्जिनियर रेशम लम्सालमाथि कुटपिट भएको घटनामा स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग राख्दै गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प पारेका छन् । कर्मचारीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवस्था नभएको भन्दै कर्मचारीले सबै सेवा रोकेका हुन् ।
यता इन्जिनियर लम्सालमाथि आक्रमण गरेको आरोपमा सानीभेरी गाउँपालिका–३ का गोविन्द ओलीलाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियर लम्सालले योजनाको लागत रकम कम मूल्याङ्कन गरेको भन्दै ओलीले कुटपिट गरेको बताइएको छ । ओलीले सानीभेरी गाउँपालिका–९ स्थित सिम्ली बजारबाट कार्यालय जाँदै गर्दा इन्जिनियर लम्सालमाथि कुटपिट गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीका अनुसार मुक्काले टाउकोमा र लात्तीले पेटमा हानेर इन्जिनियर लम्साललाई सडकमै लडाइएको थियो ।
