दाङ । आज असार १५ गते । राष्ट्रिय धान दिवस अर्थात किसानले मानो छरेर मुरी उब्जाउने दिन ।
सरकारले आजको दिनलाई ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । तर समयमा वर्षात नहुँदा र किसानहरुले आवश्यक परेको समयमा मल नपाउदा यो सरकारी निकायको मात्रै रोपाइ तथा धान दिवस बन्दै आएको छ ।
यस वर्ष पनि समयमा वर्षात नहुँदा अधिकांश किसानहरुले धानको व्याड समेत राख्न पाएका छैनन् । आजको दिन रोपाइको शुरुवात गर्ने र दही चिउरा खाने पनि चलन छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दही चिउरा खाई असार १५ मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने प्रचलन छ ।
