काठमाडौं । सरकारी वकिलले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तलाई थुनामै राखी अनुसन्धान जारी राख्न माग गरेका छन् ।
काठमाडौं जिल्ला अदालतमा सोमबार थुनछेक बहसका क्रममा चारजना सरकारी वकिलले बहस गर्दै अभियुक्तहरूलाई थुनामै राखी अनुसन्धान अघि बढाउन माग गरेका हुन् । ठगीकाण्डमा संगठित अपराधसमेत देखिएकाले थुनाबाहिर पठाएर मुद्दाको पुर्पक्ष गर्दा प्रमाण मेटाउन सक्ने जोखिम रहेकाले उनीहरूलाई थुनामै राख्नुपर्ने उनीहरूको भनाइ थियो ।
‘धरौटी लिएर रिहा गर्ने अवस्था छैन श्रीमान् । यसमा मल्टिपल अफेन्डर्स (बढी प्रतिवादी) छन् । संगठित अपराधको मोडस ओपरेन्डी (अपराध गर्ने तरिका) छ । प्रतिवादीहरूबीच एउटा नेक्सस देखिएको छ । थुनामा बसेर पुर्पक्ष गर्नुपर्ने यथेष्ट आधार छन्,’ सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले इजलासमा भने । उनले प्रतिवादीहरूका कारण आमनागरिकको राज्य, नेतृत्व र मन्त्रालयप्रतिको विश्वास गुमेकाले राज्यविरुद्धको कसुर कायम हुनुपर्ने मागसमेत गरे ।
सरकारी वकिलले यो मुद्दामा संगठित अपराध रहेको दाबी गर्दै मुद्दा दायर गरेकोमा पर्याप्त प्रमाण पेस नभएकोप्रति न्यायाधीश प्रेमप्रसाद न्यौपानेले जिज्ञासा राखेका थिए । ‘बनाउँदाखेरी कुनै टेक्निक, प्रविधिका आधारमा बनाए कि, के आधारमा बनाए, कुनै स्रोत छैन ?,’ न्यायाधीश न्यौपानेले प्रश्न गरे, ‘यसमा सबैलाई लिंकेज गराउने संगठित अपराधको मुद्दा हो । त्यो भएन भने यो मुद्दा छिन्नभिन्न हुन्छ । त्यस्तोमा प्रमाणै यस्तो छ । फोटो बनाउन मिल्दैन र रु’ केवल फोटोको आधारमा कसैबीच कुनै अपराधका लागि साँठगाँठ छ भन्न मिल्ने आधार र फोटोको वैधानिकताबारे उनले प्रश्न गरेका थिए । नयाँ पत्रिकाबाट
