काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोवबहादुर रायमाझी प्रहरीको सूचीमा फरार छन् ।
उनलाई प्रहरीले पक्राउ पुर्जी जारी पनि गरिसकको छ । तर रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका छन् । निरन्तर १० वटा बैठकमा अनुपस्थित भएमा सांसद पद रिक्त हुने संवैधानिक व्यवस्था छ । उनी पछिल्लो ५ बैठकमा अनुपस्थित छन् ।
आइतबार सुरु बजेट अधिवेशनको कुनै पनि बैठकमा उनी उपस्थित छैनन् । अधिवेशन सुरु हुनुअघिकै वैशाख २१ गतेको मिति राखेर आफू बिरामी रहेको लिखित पत्र लेटर प्याडमा उनले संसद् सचिवालयमा पठाएका छन् ।
‘केही दिनदेखि अस्वस्थ भएको हुँदा उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा नियमित उपस्थित हुन नसक्ने हुँदा बिदा स्वीकृत गरिदिन हुन अनुरोध गर्दछु’ सभामुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेख छ । उपचार गराइरहेको भनिए पनि कुन अस्पतालमा भन्ने उल्लेख छैन् । मंगलबार नै सभामुखको सचिवालयमा छाडेको पत्रमा रायमाझीको हस्ताक्षर छ । अपरिचित व्यक्तिले खामबन्दी पत्र छाडेर गएको सचिवालय स्रोतले जनाएको छ ।
