काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
नक्कली भुटानी शरनार्थी प्रकरणमा पूर्व गृहमन्त्री पक्राउ परेकै दिन तीन नेताहरुबीच छलफल भएपछि चासोका साथ हेरिएको थियो । तर छलफलमा सदन सुचारु गर्ने आगामी बजेटलगायतका बारेमा छलफल भएको बताइएको छ ।
छलफलपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले छलफल सदनलाई सुचारु गर्ने सन्दर्भमा केन्द्रित भएको बताएका छन् ।
सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने “मिडियामा जसरी तपाईंले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हाम्रो भेट सदनलाई कसरी सुचारु रुपमा लैजाने, संसदीय समिति बनाउने, संयुक्त समिति बनाउने विषयमा नै बढी छलफल भएको छ।”
प्रचण्डले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको सन्दर्भमा यसमा प्रहरीले आफ्नो काम अघि बढाएको र सरकारले पनि ठीक ढंगले काम गरोस् भनेर ‘स्ट्याण्डिङ अर्डर’ दिएको बताए ।
