Indrenionline.com

समयमै महाधिवेशन माग गर्दै ने.वि.संघका नेता अनसनमा

तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको सुनिश्चतताको माग गर्दै ने.वि.संघका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट रिले अनशन सुरु गरेका छन् । ८ औं पटक सम्म मिति घोषणा गरी ने.वि.संघको महाधिवेशन स्थगित हुँदै आएको छ । पटक पटक मिति घोषणा गर्दै पार्टी नेतृत्वको दवाबमा सारिदै आएको महाधिवेशन अब सार्न नहुने भन्दै नेताहरु अनसन बसेका हुन् ।

करिब ५ वर्ष अघि ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने म्याण्डेड लिएर आएको वर्तमान केन्द्रीय समितिले यही श्रावण २३ देखि २५ गतेसम्म महाधिवेशन हुने घोषणा गरेको छ । संघका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले को नेतृत्वमा ११ जना विद्यार्थी नेता अनसनमा बसेका छन् ।

नेवि संघका केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले ने.वि.संघको महाधिवेशन तोकिएकै समयमा विधिवत् रुपमा सम्पन्न गर्न र ने.वि.संघको विधि र विधान विपरित भागवण्डा गरिएका नेतृत्व र करिब १६०० महाधिवेशन प्रतिनिधि खारेज गरी विधि अनुसार नेतृत्व र प्रतिनिधि चयनका लागि दबाब दिन अनसन सुरु गरिएको बताउनुभयो ।

अनसनमा काभ्रे, धादिङ, संखुवासभा, जाजरकोट, गुल्मी, अर्घाखाँची, बाँकेलगायतका जिल्ला अध्यक्ष र उपत्यकाका नेपाल ल क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, थापाथली इञ्जिनियरिङ्ग क्याम्पस, सरस्वति बहुमुखी क्याम्पस, पध्मकन्या बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस लगायत अन्य अधिकांश क्याम्पस इकाईको समर्थन तथा ऐक्यबद्धता रहेको बताइएको छ ।।