डोटी, १ बैशाख
डोटीको जिजोडामाण्डौं गाविसमा जीप दुर्घटना हुँदा पद्मकन्या क्याम्पस काठमाडौंका प्राध्यापक डा. जयराज पन्तसहित ८ जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । ६ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा डडेल्धुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले जानकारी दिनुभयो ।
कामाण्डौंमा बस्दै आएका पन्त पारिवारिक पुजाका लागि आफ्नो गाउँ उच्चाकोट जाँदै थिए । तीनताली बानडुग्री सैनबाट उच्चाकोटतिर गईरहेको ना१ज ३२९४ नम्बरको जीप जिजोडामाण्डौं गाविस–३, स्थित भीरमा उकालो चढ्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ९ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ । जीप भीरबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।।