काठमाडौँ । विहान १० बजेबाट शुरु भएको राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय संसदतर्फ ३१३ र प्रदेशसभातर्फ ५१८ मत खसेको छ ।
संघीय संसद्का ३३१ सांसदमध्ये ३१३ ले मतदान गरेका हुन् । मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् ।
त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् ।
संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ । तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ राष्ट्रपति निर्वाचनको मतगणना ४ बजेदेखि गर्ने तयारी भएको छ ।
