अभिषेक बोहरा /दाङ — ठेकेदारको मनोमानीले घोराही–तुलसीपुर उपमहानगर जोड्ने चार लेन सडक अलपत्र परेको छ । चार लेन बनाउन थालेको चार वर्ष पूरा भयो । यसबीच करिब १० प्रतिशत मात्रै काम भएको छ । घोराही–तुलसीपुर चारलेन सडक निर्माण जारी रहँदा धुलोले समस्या बनाएको छ ।
सडकमा आवतजावत गर्दा यात्रुहरूलाई पनि त्यत्तिकै समस्या हुने गर्छ । पैदलयात्रु होस् वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नुपरेको छ । “धुलैधुलो हुँदा अगाडिको गाडी पनि देखिँदैन । श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडिको गाडी नदेखिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ”, चालक ध्रुव रावतले भन्नुभयो, “सवारी चलाउन पनि समस्या हुन्छ ।”
चार लेन बनाउन भत्काउन थालेयता यस सडकमा भएका दुर्घटनामा २५ जनाको ज्यान गइसकेको छ । हालसम्म ५९ वटा दुर्घटना भएको र त्यसमा ८१ सवारीसाधन परेको उनले जानकारी प्रमुख प्रहरी निरीक्षक कर्ण मल्ल दिए । उनका अनुसार दुर्घटनामा ९४ जना घाइते भएका छन् । सडक भत्काएर अलपत्र छोड्दा र बीचबीचमा खाल्डा हुँदा दुर्घटनाको जोखिम रहेको उनले बताए ।
घोराही–तुलसीपुर चारलेनको काम २०७५ माघदेखि सुरु भएको हो। ३० महिनामा काम सक्ने गरी सम्झौता भयो। उक्त सडकमा अहिलेसम्म ७ जना पेटी ठेकेदार फेरिएका छन्। चौथोपटक म्याद थप भइसकेको छ।
२०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन। काम सक्ने त टाढाको कुरा ६ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन। त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो। त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन।
अहिल खरिद ऐनको १२ औँ संशोधनले चौथोपटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ।
सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रूपमा जिम्मा पाए। त्यसपछि पुनः अनुप पाण्डे आए। उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए। उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनीलजंग रायमाझी आएका हुन्।
पटक-पटक म्याद थप हुने तर काम नसकिँदा नागरिकस्तरबाट पनि विरोध हुने गरेको छ। केही दिनअघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो। सडकको दुवैतिर बाटो काटेर छोडिएको छ । गाडी सजिलै पास हुन सक्ने अवस्था छैन । छेउमा गए गाडी पल्टिने, सडकमै रहे अर्कोसँग ठोक्किने अवस्था छ । ठूल्ठूला खाल्डा खनेर छाडिएको छ । जोखिमपूर्ण सडकमा कति बेला कसको ज्यान जान्छ, भरै छैन ।
‘जति ठेकेदार फेरिए पनि प्रगति केही छैन ।पछिल्लो समय पुस १८ देखि बुटवलका सुनीलजंग रायमाझीले पेटी ठेक्का पाएका छन्। तर, उनले पनि काम अगाडि बढाउन सकेका छैनन्। तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय नेपाली रुपैयाँ जरिवाना गर्ने गरेको छ। कुल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यवस्थाअनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो।
