काठमाडौं । विशेष अदालतले समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै पूर्वमन्त्रीद्वय बद्री न्यौपाने र टेकबहादुर गुरुङसहित नौजनालाई दोषी ठहर गरेको छ ।
तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले विनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा कौडीको भाउमा भाडामा लगाएको थियो । गुरुङ हालका निलम्बित सांसद पनि हुन् ।
जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरेर सरकारलाई हानि–नोक्सानी पुर्याएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरी २१ माघ ०७५ मा १४ जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानलाई मुद्दा दायरको चार वर्षपछि विशेषले सदर गरेको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो ।
