Indrenionline.com

समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको कार्यभार : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नुपर्ने बताएका छन् ।

ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्ने आवश्यकता औल्याउदै दाहालले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार समेत भएको बताए ।

आज परेको ७३ औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए ।

“आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ” प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।