Indrenionline.com

आज महाशिबरात्री, शिवालयहरुमा विहानैदेखि दर्शनार्थीको भिड

तुलसीपुर फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मंगलबार देशभर मनाइँदैछ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व  जगत्को कल्याण गर्ने तत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

शिवरात्रिको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।राष्ट्रिय सांस्कृतिक पर्व यस दिन मंगलबार पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ ।

कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न मंगलबार देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

त्यसैगरी दाङ एशियाकै दोस्रो ठुलो उपत्यका हो। यसको क्षेत्रफल २९५५ वर्ग कि।मि रहेको छ । दाङको सदरमुकाम घोराहीदेखि करिव ९ किलोमीटर दक्षिणचुरे पहाडको फेदीमा साबिक धर्ना गा।वि।सको धारापानीमा पाण्डेश्वर महादेवको मन्दिर अवस्थित छ। द्वापर युगको अन्त्यमा श्रीकृष्णको भगवानको स्वर्गारोहण भए पश्चात पाँच पाण्डवहरुले यहाँ आएर पुजाअर्चना गरेकोले यसलाई पाण्डेश्वर महादेव भनिएको पौराणिक विश्वास गरिन्छ। यस मन्दिरको दर्शन गर्नाले मनोरथ पूर्ण हुने बिश्वास गरिन्छ।

यसमा पनि शिवरात्रिमा दाङ जिल्लाकै सबैभन्दा ठुलो शिवको तिर्थस्थल भएकोले हजारौ दर्शनार्थीको भिड रहने गर्दछ । साथै तुलसीपुर सितल्पुरको बबई नदी (सर्जु गङ्गा)को नजिक अबस्थित सितल्पुर मन्दिरमा पनि शिवरात्रिमा हजारौ दर्शनार्थीको भिड रहने गर्दछ  ।