Indrenionline.com

राष्ट्रपति खिचातानी : ओलीको प्रस्तावमा दाहालको अस्वीकार

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ताको दिन आउँन करीव एक हप्ता बाँकी छ । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदार नेकपा एमाले र माओवादीका शीर्षनेताहरुबीच छलफल जारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकार निर्माणका वेला भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडानमा छन् भने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने राष्ट्रपतिमा राष्ट्रपति सहमति खोजिनुपर्ने बताइरहेका छन् ।

राष्ट्रपतिका विषयमा दुई नेताहरुबीच पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेका छैनन् । यसै विषयलाई लिएर विहीबार पनि दुई नेता छलफलमा जुटे । तर करीव दुई घण्टासम्म भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । ओली आफ्नै अठानमा रहे भने दाहाल पनि आफ्नो अडानबाट पछि हट्न मानेनन् ।

सरकार गठन भएदेखि नै एकअर्काबीच असहज दाहाल र ओलीको सम्बन्ध राष्ट्रपति निर्वाचनले चिसो बनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार ओलीको प्रस्ताव अस्वीकार गर्दै दाहालले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमै गर्नुपर्ने अडान राखेका छन् । दुई नेताबीच यो विषयमा फेरि पनि छलफल हुने बताइएको छ । यो विषयमा दुई नेताबीच कुरा नमिल्दा राष्ट्रपति कतै हाम्रो हातमा पो पर्छ कि भनेर काग्रेस भने कुरेर बसेको छ ।