Indrenionline.com

आजबाट सीता एयरले काठमाडौं–दाङ व्यवसायिक उडान गर्दै

काठमाडौं। निजी वायुसेवा सीता एयरले बुधबारबाट दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गर्ने भएको छ। माघमा परीक्षण उडान गरेको सीताले साताको तीनवटा उडान गर्ने तारिका पाएको हो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सीताले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ।

यसअघि नेपाल वायुसेवा निगमले यो गन्तव्ययमा नियमित उडान गर्दै आएको थियो। अब निजी वायुसेवाले पनि यो गन्तव्यमा नियमित उडान सेवा दिने भएको प्राधिकरणले जनाएको छ।

हाल नेपाल वायुसेवा निगमले यो गन्तव्यमा १९ सिटे ट्‍वीनअटर जहाजमार्फत साताको आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्दै आएको छ।

प्राधिकरणका अनुसार यो गन्तव्य उडानका लागि एकतर्फी भाडादर ५ हजार ८६५ रुपैयाँ छ।