धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल पदमुक्त भएका हुन् ।
आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिनमै ढलेको हो ।
यसअघि गएको पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावल नेतृत्वको सरकार ढलेसँगै अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ।
