Indrenionline.com

सुदूरपश्चिम प्रदेश सरकार : मुख्यमन्त्री रावलले आज पाउलान त विश्वासको मत, नपाए कांग्रेसलाई सरकार बनाउन बाटो खुल्ला

घनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिदैछन् । विश्वासको मत लिनका लागि आज बेलुकी ५ बजेसम्मको समय छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि रावललाई विश्वासको मत लिन सकस भएको छ । आज विश्वासको मत लिन नसकेमा अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

संविधान बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। जसअनुसार यो प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली काग्रेस हो । मुख्यमन्त्री रावलले आज विश्वासको मत नपाएमा काग्रेसलाई सरकार बनाउने बाटो खुल्ने पक्का छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् । सरकार गठनको लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीले कारागार चलान भएका आफ्ना सांसद रेशम चौधरीलाई रिहा नगर्दासम्म विश्वासको मत नदिने अडान राख्दै आएको छ ।