Indrenionline.com

टर्की भूकम्पमा परी मर्नेको सङ्ख्या सात हजार नाघ्यो

काठमाडौं । टर्कीमा सोमवार गएको शक्तिशाली भूकम्पमा परेर मर्नेको सङ्ख्या सात हजार नाघेको छ ।
अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।

दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण सङ्कलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् ।

भूकम्पका कारण हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनले भूकम्पका ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।

– एजेन्सी