Indrenionline.com

रास्वपाद्धारा सरकारबाट बाहिरिने निर्णय, समर्थन भने कायम राख्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकारबाट बाहिरिए पनि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखेर पार्टीबाट बनेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । उनीहरुले आइतबार नै मन्त्रीहरूले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने बताइएको छ ।

सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्। मन्त्रीद्वय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णय गरेको हो ।