काठमाडौँ, १९ माघ । ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोब त्रिभुवन विमानस्थलबाट बुधबार राति पक्राउ परेका हुन् ।
मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको प्रवक्ता यमराज पाण्डेले जानकारी दिएका छन् ।
ती व्यक्तिले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ । सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आइएको छ ।
