काठमाडौं, १८ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः ब्युँताउने तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि कार्यान्वयन नभएको उक्त नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो ।
मन्त्रालयमा मंगलबार आयोजित मन्त्रीस्तरीय बैठकले जतिसक्दो छिटो दुवैजनाले हेल्मेट लगाउने नियम कार्यान्वयनमा ल्याउन जोड दिएको छ । मोटरसाइकल यात्रालाई सुरक्षित र दुर्घटनामा क्षति कम गर्नेबारे छलफल गर्न मंगलबार भौतिकमन्त्रीले विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुखहरूसँग छलफल गरेका थिए ।
