काठमाडौं, १८ माघ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पार्टी मुख्यालय पेरिसडाँडामा बस्दै छ। बैठकमा राष्ट्रपति, गृहमन्त्रीका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका सदस्यहरुको धारणा बुझ्नेछन्।
निर्वाचन मितिसमेत तय भइसकेको अवस्थामा माओवादीले राष्ट्रपतिबारे छलफल गर्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रिपति चयनमा जोड दिँदै आएका छन्।
सत्ता साझेदार ठूलो दल नेकपा एमालेले भने सरकार गठनकै बेला राष्ट्रपति आफूले पाउने सहमति भएको दाबी गर्दै आएको छ। तर प्रधानमन्त्री प्रचण्डले भने आफूलाई चुनौती नदिने व्यक्तिलाई राष्ट्रपति बनाउन चाहिरहेका छन्। निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन घोषणा गरिसकेको छ। यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ।
