Indrenionline.com

नागरिकका अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुखद् : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुखद् भएको बताएका छन् ।

आज शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन, निर्माण प्रक्रियालाई यथाशीघ्र अघि बढाउने प्रतिवद्धता जनाए ।प्रधानमन्त्री दाहालले सातै प्रदेशमा विशेष अस्पतालहरुको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री दाहालले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौती रहेको र केही घटनाक्रमले समाज राज्यप्रति वितृष्णा पैदा हुने संकेत देखिएको गुनासो गरे ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताइन् ।

राज्यमन्त्री कार्कीले मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् ।नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गरे ।सांसद पौडेलले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी रहेको पनि उल्लेख गरे ।

मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोग सम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाइ छ ।