सांसद पद खारेज भएपछि पूर्व उपप्रधानन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पक्षमा युवाहरूद्धारा माइतीघरमा नाराबाजी भएको छ ।
हिजो सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो ।
फैसला आए संगै उहाँ उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त हुनुभएको थियो । साथै लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत गुमेको छ ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले उक्त निर्णय सुनाएको थियो ।
रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने नदेखिएको फैसलामा उल्लेख छ ।
लामिछानेले चितवन क्षेत्र नंवर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचित समेत भएको देखिदा लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने पनि फैसलामा उल्लेख छ । सर्वोच्चको फैसलासंगै लामिछानेको पद खारेज भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयो ।
यस्तै, पूर्व उपप्रधानन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्नुभएको थियो । यतिवेला आफ्नो कुनै परिचय नै नभएको भन्दै उहाले अनागरिकसंग कुनै पनि प्रश्नको जवाफ नरहेको उहाको भनाइ राख्नु भएको थियो ।
