Indrenionline.com

गृहमन्त्री लामिछानको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमाथिको रिटमाथि आज पनि बहस हुदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि बुधबार पेसी तोकिएको थियो । नागरिकता त्याग, प्राप्ति र प्रक्रियाका बारेमा विवाद निरूपण गर्न पाँच सदस्यीय संवैधानिक इजलासमा यो मुद्दाको छिनोफानो हुँदैछ ।

निष्क्रिय भइसकेको पुरानो नागरिकता राखी पार्टी दर्ता गरेको, प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी निर्वाचित भएको भन्दै ती सबै प्रक्रिया र प्राप्त पद खारेज गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने नेपाली नागरिक रहँदै गर्दा अमेरिकाको नागरिकता लिएको र अमेरिकाको नागरिकता लिने समयमा कुनै निवेदन पेस नगरेको, अमेरिकाको नागरिकता प्राप्त गरिसकेपछि पनि नेपाली नागरिकता त्याग गर्नका लागि निवेदन नदिएको र अमेरिकाको नागरिकता प्राप्त गरेको कुरा गोप्य राखेको तथा नागरिकता त्याग गरेको भने पनि त्यसको निस्सा नबुझाएको कारण उनको नेपाली नागरिकता कायम नरहेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।