Indrenionline.com

तामाङ समुदायबाट मन्त्री बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा उल्लेख भएका संघीयता, समावेशी र समानुपातिक प्रावधानलाई सही ढंगले अगाडि बढाउन आफू लागिपरेको बताएका छन् । २८५९ औँ सोनाम ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीयता, समावेशी र समानुपातिक प्रणालीमाथि प्रश्न उठेकाले यसलाई सही ढंगले अगाडि बढाउन लागिपर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभाव बढ्दै गएको उल्लेख गर्दै नेपालको संस्कृतिको जगेर्ना गर्ने दायित्व सबैमा आएको बताए । उनले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढाउने कुचेष्टा भइरहेको भन्दै सचेत हुन आग्रह गरे । प्रधानमन्त्री दाहालले वर्तमान सरकारमा तामाङ समुदायका प्रतिनिधित्व गर्नेलाई मन्त्री बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।
प्रधानमन्त्री दाहालले ल्होछार तामाङ समुदायको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको बताएका छन् । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार ल्होछार पर्व मनाउने गर्दछन् ।