Indrenionline.com

संसदमा कांग्रेसको प्रश्न : गृहमन्त्रीलाई प्रहरीले टेर्न छोडेको हो ?

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

शनिबार प्रतिनिधिसभा बैठकको शुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ति निकाल्दै जाने हो भने यसको मुलुकलाई कुन अवस्थामा पुर्‍याउने हो भन्दै प्रश्न समेत गरे ।

उनले के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै तत्काल त्यसको जवाफ समेत माग गरे ।

सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरे । उनले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न पनि सचेत गराए ।