अटोरिक्साको छुट्टै पार्किङ स्थान नहुँदा आफुहरु मारमा परेको तुलसीपुरका अटो रिक्सा चालकहरुले बताएका छन् । आज तुलसीपुरमा भएको ट्राफिक नियम सम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै अटोरिक्सा चालकहरुले यस्तो गुनासो गरेका हुन् ।
अटो ईलेक्ट्रिक रिक्सा श्रमिक संघ तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा बोल्दै रिक्सा चालकहरुले सडकमा छोडिएका छाडा पशु चौपायाले गर्दा पनि दुर्घटना हुने सम्भाबना बढेको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि ट्राफिक कार्यालय तुलसीपुरका असई लालबहादुर पुनले अटो रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । चालकहरुलाई जेव्रा क्रसिङ, कुन साईडबाट आफु हिड्ने , सडक पार गर्ने ब्यक्तिको ईसारामा कसरी सवारी चलाउने लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य भरत भट्टराईले नजिकिदै गरेको चाडबाडको समयमा सडक मिचिने गरी हुने फुटपाथ पसललाई ब्यबस्थित गर्नु पर्ने बताउनुभयो ।
साथै अध्यक्षको संगठानिक प्रतिबेदन प्रस्तुत गर्दै संघका अध्यक्ष रोकाले अटोरिक्सा दाङमा भित्रिएसंगै बेरोजगार युवाहरु स्वरोजगार बन्न सफल भएको बताउनुभयो । अध्यक्ष रोकाले तुलसीपुर क्षेत्रमा बिद्युत कम भोल्टेज भएकाले अटोरिक्सा चार्ज गर्न समस्या भएको पनि बताउनुभयो । ८० किलोमिटर गुड्ने रिक्सा कम भोल्टेज भएकै कारण चार्ज नहुदा ३० किलोमिटर मात्रै गुडने गरेको उहाँको भनाई छ ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यलय तुलसीपुरका प्रहरी जवान लक्ष्मण ज्ञवालीलगायतले बोल्नुभएको थियो । संघका उपाध्यक्ष भोजराज पन्थिको स्वागत मन्तब्य तथा खिम बहादुर बिकको स्वागत गीतबाट शुरु भएको कार्यक्रको सहजीकरण सचिब टिकाराम बुढाथोकीले गर्नुभएको थियो ।।