Indrenionline.com

फुटबल भइरहेको मैदानमै हेलिकोप्टर ल्यान्ड : आक्रोशित स्थानीयले पाइलट र यात्रुलाई कुटे

स्याङ्जाको वालिङ मैदानमा बिहीबार क्यामरुनी एभिनियर एफसी र वालिङ एफसी रातोबीच दोस्रो सेमिफाइनल खेल चलिरहेको थियो । घरेलु टोलीलाई हौस्याउन उल्लेखनीय दर्शक रंगशालामा उपस्थित थिए । खेलको पहिलो हाफ चलिरहेको थियो । दुवै टोलीका खेलाडी गोल गर्न आक्रामक रूपमा प्रस्तुत भइरहेका थिए । दर्शक भने वालिङको पक्षमा हुटिङ गरिरहेका थिए । फुटबल सञ्चालन भइरहेको मैदानमा अचानक प्रभु एयरको हेलिकोप्टर ल्यान्ड भयो ।

मैदानमै ९ एन–एएलएक्स हेलिकोप्टर गोलपोष्टको छेउमा ल्यान्ड भएपछि प्रतिस्पर्धा गरिरहेका खेलाडी सुरक्षित स्थानतर्फ लागे । हेलिकोप्टर ल्यान्ड हुँदा मैदानमा धुलो उडेको थियो । हेलिकोप्टरको इन्जिन अफ भएपछि माहोल परिवर्तन भयो । जानकारी नदिई मैदानमा हेलिकोप्टर ल्यान्ड गरेको जनाउँदै उपस्थित दर्शकले पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका छन् । आयोजकका अनुसार हेलिकोप्टरका पाइलट डंगोलले ठूलै गल्ती गरेका हुन् । मैदानमा सानो गल्ती हुँदा कसैको ज्यान जान सक्ने आयोजकको भनाइ छ ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापाले ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर्ड गरेर वालिङ ल्याएका थिए । अनुमतिविना मैदानभित्र हेलिकोप्टर ल्यान्ड भएसँगै आयोजक र खेलाडी आक्रोशित बनेका थिए । दर्शकले खेल बिथोल्ने काम गरेको जनाउँदै पाइलट र हेलिकोप्टरमा सवारमाथि जाइलागेका हुन् ।

दर्शकको कुटाइबाट क्याप्टेन डंगोलको नाक र मुखबाट रगत निस्किएको छ । यात्रुहरूको आग्रहमा पाइलटले खेल चलिरहेको मैदानमै हेलिकोप्टर अवतरण गरेको आयोजकले जनाएको छ । क्याप्टेन डंगोलले हेलिकोप्टर पोखरा लगिसकेका छन् । हेलिकोप्टर वालिङ ल्याउने यात्रुलाई प्रशासनले कारबाही गर्ने भएको छ । घटनासम्बन्धमा स्याङ्जाको सिडिओ कार्यालयले छानबिन गर्नेछ । विनाअनुमति गएको हेलिकोप्टरका कारण मानवीय दुर्घटनासमेत निम्तिन सक्ने अवस्था ल्याएको भन्दै कारबाहीका लागि रिपोर्ट गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ ।