Indrenionline.com

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं । नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट सभामुख चयन भएका हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा २६८ सांसद उपस्थित रहेकोमा उनको पक्षमा १६७ मत खस्यो। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको पक्षमा १०० मत खस्यो। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो।

घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका थिए।

यस्तै, सभामुखका लागि नेपाली कांग्रेसकी उम्मेदवार न्यौपानेको प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला थिए।