Indrenionline.com

सभामुखको चुनाव आज, सत्तापक्षबाट घिमिरे र विपक्षबाट न्यौपाने प्रतिस्पर्धामा

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको सभामुख पदका लागि आज चुनाव हुँदैछ । उक्त पदका लागि सत्तापक्ष र विपक्षीबाट गरी दुई जनाको उम्मेदवारी परेको छ ।

सत्तागठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षीबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएका छन् । सभामुखको चुनावका लागि आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

सत्तागठबन्धनमा अहिले माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी छन् । यीमध्ये भागबन्डामा असन्तुष्ट जसपा सरकारमा गएको छैन  ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने प्रतिपक्षी बेन्चमै बसेको छ  । तीन सिट भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखमा कसलाई समर्थन गर्ने भनेर आज बिहान निर्णय गर्दैछ ।

सरकारलाई विश्वासको मत दिएको, तर सहभागी नभएको लोसपाले पनि आज नै निर्णय गर्ने जनाएको छ । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपामा प्रेम सुवालले बिहान नै निर्णय गर्ने बताएका छन् । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।