Indrenionline.com

आज को-को बन्दैछन् मन्त्री

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दोस्रो पटक मन्त्री परिषद विस्तार गर्दै छन् । सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगेपछि दाहालले आज मन्त्री परिषद विस्तार गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको थियो । नयाँ मन्त्रीको शपथ दिउँसो १ बजे तय गरिएको छ ।

आज बन्ने मन्त्रीहरु

सत्ताको मुख्य घटक नकेपा एमालेले एमालेको तर्फबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, झापाका एलपी साँवा, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीमध्येबाट मन्त्री बन्दै छन् ।

त्यस्तै, दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तामध्ये एकजना पठाइने छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन्। त्यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह मन्त्री बनिसकेका छन्। उनीहरूको विभाग तोक्न बाँकी छ।

नेकपा माओवादीमा सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायत चर्चामा छन् । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी छ। तर, श्रममा विराजभक्त श्रेष्ठले पनि दाबी गर्दै आएका छन्। एक राज्यमन्त्रीमा भने डाक्टर तोसिमा कार्की या सोविता गौतममध्येबाट बनाउने सोचमा अध्यक्ष लामिछाने छन्।

राप्रपाबाट उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन्। प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी छ। सहरी विकास मन्त्रीमा ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा दीपकबहादुर सिंह पठाउने तयारी छ। खेलकुद मन्त्रालयमा धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट बनाउने तयारी छ।
यस अघि नै जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनिसकेका छन्।

जसपा सरकारमा नजाने

मन्त्रालय बाँडफाँटमा असहमति जनाउँदै जनता समाजवादी पार्टी जसपा सरकारमा सामेल नहुने भएको छ। सोमबार बालुवाटारमा सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बाँडफाँट सम्मानजनक नभएको भन्दै अध्यक्ष उपेन्द्र यादव बैठक नसकिँदै वाहिरिएका थिए।