काठमाडौं, २५ पुस । सरकारले ज्येष्ठ नागरिकका लागि दिइने सामाजिक सुरक्षा भत्ता अब ६० वर्ष माथिकालाई दिने निर्णय गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई आज सार्वजनिक गर्दै अब ६० वर्षमै सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताएका छन् ।
यसैगरी, दुई वर्षमा सबैलाई साक्षर बनाउने, शिक्षाको गुणस्तरमा सुधार गर्ने, स्वस्थ नेपाल निरोगी नेपाल लागू गर्ने, महिनावारी हुने महिलालाई मासिक एक हजार दिने, सबै बालबालिकालाई पूर्ण खोपको व्यवस्था गर्ने, श्रम ऐनमा आवश्यक संशोधन गर्ने र महिलाको प्रजनन् स्वास्थ्यको संरक्षण गर्ने न्यूनतम साझा कार्यक्रमा समेटिएको पौडेलले जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भइरहेको छ ।
