काठमाडौं, २५ पुस । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकाङ्क्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताए।
प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने – “हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ, सांस्कृतिक मूल्य मान्यता बिर्सेमा समाज वास्तवमा समाज रहँदैन ।”
मुलुकको राजस्व ऋणात्मक अवस्थामा रहेको चर्चा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले निर्यात गर्ने वस्तु घटेको र उद्योग बन्द भएको बताए ।
