काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।
२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् ।
१९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए ।
पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए ।
उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरेका थिए।सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।
६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताएका उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे। ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन्। २१ वर्षको करियरमा उनले कुल १,३६३ खेल खेल्दा विश्व कीर्तिमान १,२८१ गोल गरेका थिए।
पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
यसैबीच पेलेको निधनमा तीन दिन ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। राष्ट्रपति जैर बोल्सोनारोको सरकारले तीन दिने शोकको घोषणा गर्दै एक विज्ञप्तिमा निकालेर पेले ब्राजिलको नाम उचाल्ने एक महान र देशभक्त नागरिक भएको बताए।
