Indrenionline.com

विद्यादेवी भण्डारी दोहोरिन मिल्दैन, सुवास नेम्वाङ बन्लान् एमालेबाट राष्ट्रपति?

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको नयाँ समिकरण बनेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने निश्चित भएपछि राष्ट्रपति को बन्लान् भन्ने चासो बढेको छ।

प्रधानमन्त्री पद माओवादीलाई दिएपछि एमालेले राष्ट्रपति लिने पक्का जस्तै छ। एमालेकी पूर्वउपाध्यक्ष रहेकी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छन्। यो उनको दोस्रो कार्यकाल हो। भण्डारीको राष्ट्रपतिमा निरन्तरताको सम्भावना भने छैन।  संविधानको धारा ६४ ले दुई कार्यकाल राष्ट्रपति भएको व्यक्ति फेरि राष्‍ट्रपति हुन नसक्ने व्यवस्था गरेको छ।

भण्डारी दोहोरिने सम्भवना नभएकाले एमालेमा राष्ट्रपतिका उम्मेदवारको रूपमा उपाध्यक्ष सुवास नेम्वाङको नाममा चर्चामा छ।नेम्वाङ आदिवासी जनजाति समुदायको पनि प्रतिनिधित्व गर्छन्। संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग र समुदायको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

विगतमा मधेशी समुदायबाट रामवरण यादव राष्ट्रपति भएका थिए भने महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भैसकेकी छिन्। तर अहिलेसम्म जनजाति समुदायबाट राष्ट्रपति भएका छैनन्। सुवास नेम्वाङ त्यसैले पनि राष्ट्रपतिका बलियो दाबेदार हुन सक्छन्। राष्ट्रपतिका लागि नेम्वाङको राजनीतिक प्रोफाइल पनि बलियो छ। २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका थिए।

तर एमालेका एक नेताले भने राष्ट्रपतिबारे अहिले छलफल नभएको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अहिलेसम्म राष्ट्रपति को बन्छ भन्नेबारे मुख खोलेका छैनन्।‘राष्ट्रपतिबारे हामी छलफल नै गरेका छैनौं। त्यसैले को हुन्छ भन्ने कुरा पनि सुरू भएको छैन,’ उनले भने।