Indrenionline.com

बन्ला त गठबन्धनको नयाँ सरकार आज ?

काठमाडौं, १० पुस । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा दिएकी थिइन् । समयसीमा घर्किनै लाग्दा सत्ता गठबन्धन दलहरु कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा रस्साकसीमा छन् ।

संसदको ठूलो दल नेपाली काग्रेस राष्ट्रपति र प्रधानमन्त्री नछोड्ने पक्षमा छ भने गठबन्धनभित्र सरकार गठनमा निर्णायक सक्तिका रुपमा रहेको नेकपा माओवादी केन्द्र प्रधानमन्त्रीको आलोपालो प्रणालीको पहिलो प्रधानमन्त्री आफूले पाउने पर्ने अडानमा छ । को पहिलो प्रधानमन्त्री बन्ने विषयमा काग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक छलफल र वार्ता भएको छ । तर सहमति जुट्न भने सकेको छैन । यसबारे गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ । आज बिहान १० बजे पुनः बैठक बोलाइएको छ ।

कांग्रेस सभापति देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडानमा छन् भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । देउवा भने गठबन्धनमा कुरा नमिले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्रीको दावी गर्ने दाउमा छन् । यसो गरिएमा देउवाले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुर्याउने दलले आज बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ । धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ को २ बमोजिम राष्ट्रपतिले आह्वान गर्ने छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १३८ सिट चाहिन्छ ।

नयाँ सरकार गठन प्रक्रिया
राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ । संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री नियुक्त हुन नसके उपधारा (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका रूपमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके प्रधानमन्त्री पद स्वतः रिक्त हुन्छ । त्यसपछि उपधारा (५) अनुसार सरकार गठन प्रक्रिया अघि बढ्छ । उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।